नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (आइतबार) बिहान ९ बजे मतदान गर्ने भएका छन् ।
प्रधानमन्त्री देउवाले मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा भोलि ९ बजे मतदान गर्ने भएका हुन् ।
प्रधानमन्त्री देउवा विसं २०४८ देखि लगातार निर्वाचित भएको क्षेत्रबाट यसपालि पनि प्रतिनिधी सभा सदस्यको निर्वाचनमा पुनः उम्मेदवार रहेका छन् । प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्ने प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीका बताएका छन् । बराह क्षेत्र नगरपालिका–१० प्रकाशपुरस्थित मतदान केन्द्रमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतदान गर्ने उनका स्वकीय सचिव रामजी थापाले जानकारी दिए ।
कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री कार्की सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । यस्तै रुपन्देहीको तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा गृहमन्त्री बालकृष्ण खाणले मतदान गर्ने भएका छन् । प्रतिनिधिसभा सदस्य लागि गृहमन्त्री खाण रुपन्देही क्षेत्र ३ बाट उम्मेदवार रहेका छन् ।
