सूर्यबहादुर थापालाई निर्वाचन आयोगले पुनः स्पष्टीकरण सोध्यो

२ मंसिर २०७९, शुक्रबार १८:४१

एमालेका प्रतिनिधिसभा उमेदवार सूर्यबहादुर थापालाई निर्वाचन आयोगले पुनः स्पष्टीकरण सोधेको छ ।

दुईहजार रुपैयाँ दिई मीनबहादुर बुढा (भेलुबाजे) लाई आफ्नो निर्वाचन प्रचारप्रसार गराएको भन्ने बेहोराको समाचार प्रकाशन भएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

यसअघि पनि आयोगले प्युठानबाट उमेदवारी दिएका थापालाई स्पष्टीकरण सोधेको थियो । आयोगले थापालाई सोधेको छ, तपाईंले मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद वितरण गर्नु भएको हो, होइन ? तपाईंले निज मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारबाही हुनु नपर्ने हो ?

आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा वा जिल्ला निर्वाचन कार्यालय प्युठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस निर्देशन दिएको छ ।

भेलुबाजे नामबाट चर्चित बुढाले केही दिन अगाडि थापाका लागि मत मागेका थिए । आफूलाई दुई हजार रुपैयाँ दिएर भोट माग्न लगाइएको बुढाले पछि बताएका थिए ।