यो शैक्षिक शत्रदेखि चार वर्षे स्नातक तहमा पत्रकारिता विषयको पढाइ त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पस सरस्वती बहुमुखी क्याम्पसले सुरू गर्ने भएको छ ।
उक्त भेगका विद्यार्थीसमेत पत्रकारिता अध्ययनका लागि टाढा जानुपर्ने भएको र पत्रकारिता विषयको अध्ययनमा विद्यार्थीहरुको आकर्षण बढेको औल्याउँदै क्याम्पसले भर्ना सुरु गरेको क्याम्पस प्रमुख डा. डोलमान गुरुङले बताए ।
अहिले पनि बजारमा पत्रकारिता तथा आमसञ्चार विषयको माग बढेकोले स्नातक तहमा पत्रकारिता विषयको पढाइ सुरू गरिएको क्याम्पस प्रमुख गुरुङ बताएका छन्। सही पत्रकारिताले मात्र समाजलाई सही बाटोमा लैजान सक्ने उनको बुझाइ छ ।
क्याम्पस प्रमुख डा. गुरुङले भने, ‘पत्रकारिता विषय सैद्धान्तिक मात्र नभइ व्यवहारिक ज्ञान, सिपसँग जोडिएको छ । बजारको माग अनुसारको जनसशक्ति उत्पादन गरी ‘क्लासरूम’लाई ‘न्युजरुम’सँग जोडिनेछ ।’
‘क्लासरूम’लाई ‘न्युजरुम’सँग जोड्नको लागि पत्रकारिता शिक्षामा अनुभवी प्राध्यापकहरुबाट र पत्रकारितामा स्थापित भएकाहरुसंग पठनपाठन हुने उनले बताए । यसवर्ष सीमित कोटामा मात्रै भर्ना लिइने क्याम्पसले जनाएको छ ।
