कुनैपनि मतदान केन्द्रमा केही भए सेनाको टोली ३० मिनेटमा पुग्छ: गृह सचिव सिंह

२ मंसिर २०७९, शुक्रबार १६:३२

निर्वाचनलाई असर गर्ने कुनैपनि गतिविधि नियन्त्रण गर्न सरकार सक्षम रहेको गृह मन्त्रालयले दाबी गरेको छ । गृह सचिव विनोद प्रकाश सिंहले शुक्रवार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भयरहित रूपमा मतदान सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको जनाए ।

मतदान केन्द्रमा सुरक्षाका हिसाबले कुनै कमी नहुने भन्दै आवश्यक प्रबन्ध मिलाएको गृह सचिव सिंहले जानकारी दिए । मतदानको क्रममा हवाई र स्थल गस्ती हुने र त्यसको आवश्यक प्रबन्ध पनि मिलाएको उनले जानकारी दिए ।

नेपाली सेनाको टोली कुनैपनि मतदान केन्द्रमा केही भए बढीमा ३० मिनेटमा पुग्नसक्नेगरी व्यवस्था गरेको सचिव सिंहको भनाइ छ । उनले हवाई गस्तीका लागि नेपाली सेनाका हेलिकोप्टरका साथै निजी क्षेत्रका हेलिकोप्टर पनि तयारी अवस्थामा राखिएको जनाए ।

गृह मन्त्रालयले निर्वाचन विथोल्नसक्ने सम्भावित समूह र संगठन पहिचान गरेको र कतिपयलाई नियन्त्रणमा समेत लिएको जनाएको छ । ‘हिंसात्मक गतिविधि र क्रियाकलाप गर्ने व्यक्ति, समूह र संगठनलाई कानुनी दायरामा ल्याउने काम गरिरहेका छौं । कुनैपनि किसिमले मतदानलाई असर गर्ने, कर्मचारी, मतदाताको सुरक्षा, उम्मेदवार र मतदान सामग्रीको सुरक्षामा खतरा हुने कुरा सह्य हुनेछैन, त्यसलाई कडा रूपमा नियन्त्रण गरिन्छ’, गृह सचिव सिंहले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले भने, ‘केही समूह, केही दल हुन सक्छन् । लिस्टिङ छ । सुक्षम निगरानी गरिरहेको छ । निर्वाचनलाई असर गर्ने किसिमका गतिविधि नियन्त्रण गर्न हामी सक्षम छौ र यो निर्देशन स्थानीय तहमा पुगिसकेको छ ।’