राष्ट्रिय स्वतन्त्र पार्टीका यी ८ जना बलिया उम्मेदवारले कुन कुन ठाँउबाट को को सँग प्रतिस्पर्धा गर्दै छन् त ?

२ मंसिर २०७९, शुक्रबार १३:२७

पूर्व सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनमासको बढ्दो आकर्षण देखिएको छ ।

लामिछानेको लोकप्रियताले गर्दा देशैभर बाट (रास्वपा)मा जनताको आकर्षण बढ्दै गएकाले उक्त पार्टीले इतिहास रच्ने अवसर सम्भावना रहेको छ। यही मंसिर ४ गते हुने प्रदेशसभा चुनाव बहिष्कार गरेको रास्वपाले प्रतिनिधिसभाको १ सय ६५ मध्ये १ सय ३१ सिटमा उम्मेदवारी दिएको छ । सबैभन्दा धेरै एमालेले १ सय ४१ र दोस्रोमा रहेको राप्रपाका १ सय ४० उम्मेदवार छन् । यस्तै प्रत्यक्षमा ५ सिट ल्याउने रास्वपाको प्रक्षेपण छ । समानुपातिकमा भने उसले अप्रत्यासित मत पाउने अनुमान गरिएको छ ।

राजनीतिक पृष्ठभूमिबिनाको नेतृत्व र नयाँ दल भएकाले तथ्यमा रास्वपाले पाउन सक्ने मतको हिसाबकिताब निकाल्न कठिनै रहेको छ। तर, चुनाव चिह्न घण्टीप्रति देखिएको जनमासको आकर्षणले रास्वपाको संसद् यात्रालाई खासै कठिन देखाउँदैन । सुरुकै प्रयासमा राष्ट्रिय दलको हैसियत पाउनु रास्वपाका लागि ठूलो उपलब्धि हुनेछ ।

प्रत्यक्षमा कम्तिमा १ सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत राष्ट्रिय दल बन्नका लागि ल्याउनैपर्ने हुन्छ । अर्थात १ सय ३१ जना उम्मेदवारमध्ये रास्वपाले प्रत्यक्षमा एक सिट त जित्नैपर्छ । अनि देशभर खसेको कुल सदर मतको ३ प्रतिशत समानुपातिकमा मत ल्याउनुपर्छ । देशैभरि १ करोड मत खस्यो भने कम्तिमा तीन लाख मत समानुपातिकमा पाउनुपर्छ । दुवै थ्रेसहोल्ड पार गर्ने दलहरूले संसद्मा राष्ट्रिय दलको हैसियत प्राप्त गर्नेछन् । नभए चुनिएकाहरू पनि स्वतन्त्र सांसदका रूपमा बस्नुपर्ने हुन्छ । जस्तो कि, २०७४ मा राप्रपा नेपालले प्रत्यक्षमा १ सिट जिते पनि समानुपातिकमा तीन लाख मत पाउन नसकेपछि राष्ट्रिय दल बन्न सकेको थिएन ।

रास्वपाका उम्मेदवारहरूले ७ वटा निर्वाचन क्षेत्रमा प्रमुख दलका उम्मेदवारको कानमा घण्टी बजाइरहेका छन् । चितवन – १, चितवन – २, काठमाडौं –२, काठमाडौं –६, ललितपुर –३, नुवाकोट –२ र बाँके –२ मा रास्वपाका उम्मेदवार मुख्य प्रतिस्पर्धी बन्न सक्ने अड्कल गरिएको छ । यीमध्ये पनि रास्वपालाई राष्ट्रिय दलको मान्यता दिलाउने सम्भावित क्षेत्र चितवन –२ लाई मानिएको छ । अन्य क्षेत्रमा रास्वपाका उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा देखिन सक्छन् ।

चितवन २ मा रवि लामिछाने
पार्टी सभापतिसमेत रहेका रवि लामिछानेले चितवन २ बाट निर्वाचित हुने सम्भावना प्रबल छ । सञ्चारकर्ममा रहँदाको लोकप्रियता नै रविको जितमा मुख्य आधार हुने छ । उनी एमालेबाट निवर्तमान सांसद कृष्णभक्त पोखरेल र सत्ता गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठसंग प्रतिस्पर्धी गर्दै छन् ।

चितवन १ मा हरि ढकाल
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवन १ मा एमालेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र कांग्रेसबाट अर्थशास्त्री विश्व पौडेलसंग राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार युवा हरि ढकालले प्रतिस्पर्धा गर्दै छन् । चितवन रत्ननगर १५ माधवपुरका उनी अनेरास्ववियु चितवनका पूर्वसचिव पनि हुन् । चितवन १ एमालेको परम्परागत पकड रहेको क्षेत्र हो । तर दुईपल्ट चुनाव जितिसकेका पाण्डेलाई छोडेर यसपालि मतदाताले नयाँलाई रोज्नसक्ने चिन्ता एमालेजनलाई छ । कांग्रेसका विश्व पौडेलको पनि जनाधार राम्रो छैन । उनको हकमा कांग्रेसभित्रको आन्तरिक विवादले पनि असर गर्न सक्छ । त्यसैले यसपालि हरि ढकाल सशक्त उम्मेदवारका रूपमा देखा परेका छन् ।

काठमाडौं २ मा सोविता गौतम
सोविता गौतमले काठमाडौं २ मा एमालेका उम्मेदवार मणिराम फुयाँल, राप्रपाबाट कुन्ती पोखरेल र वाम – लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रकी ओनसरी घर्ती प्रतिस्पर्धा गर्दै छिन् ।

ललितपुर ३ मा तोसिमा कार्की
ललितपुर ३ मा तोसिमा कार्कीले माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल र एमालेका अमृत खड्का प्रतिस्पर्धामा उत्रिएकी छन् । उम्मेदवारीसम्बन्धी विवादले थप चर्चित बनेकी कार्कीले ठूला दलका दुवै उम्मेदवारको कानमा घण्टी बजाइरहेकी छन् ।

काठमाडौं ६ मा शिशिर खनाल
काठमाडौं ६ मा शिशिर खनालले कांग्रेसका भीमसेनदास प्रधान र एमालेका सर्वेन्द्र खनालबीच प्रतिस्पर्धा गर्ने भएका छन्। तर रास्वपाका शिशिर खनाल पनि बलियो प्रतिस्पर्धीका रूपमा देखा परेका छन् । तीव्र चुनावी अभियानमा होमिएका उनलाई धेरै मतदाताले भोट हाल्ने आश्वासन दिएका छन् । अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका ४३ वर्षे खनाल टोखा १०, गोंगबुका बासिन्दा हुन् । उनले लामो समय शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेर काम गरेका छन् । दाङको तुलसीपुर उपमहानगरको शिक्षा सल्लाहकारसमेत भइसकेका खनालले आफूले चुनाव जित्ने दाबी गरेका छन् ।

नुवाकोट २ सुमन पाण्डे

नुवाकोट २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमन पाण्डेले कांग्रेसका अर्जुननरसिंह केसी र एमालेका उम्मेदवार नारायण खतिवडासँग प्रतिस्पर्धामा उत्रिएका छन् ।

बाँके २ विनोद अग्रहरी
बाँके २ बाट प्रतिनिधिसभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विनोद अग्रहरी उम्मेदवार बनेका छन् । उनी केवुल व्यवसायी हुन् । निकै अगाडिदेखि चुनावको तयारी गरिरहेका उनी यसपालि प्रमुख दलका लागि तगारो बन्न सक्छन् ।

यस्तै धादिङबाट प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीच.तर्फबाट कमेडी च्याम्पियन हिमेश पन्त उम्मेदवार बन्ने भएका छन्।