यही मंसिर ४ गते हुने आम निर्वाचनको तयारी पुरा भएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार निर्वाचनको सुरक्षाका लागि जिल्लामा १ हजार ९ सय ५४ जना सुरक्षाकर्मीहरू खटिएका छन् ।
जुम्लामा १ सय ६ मतदान केन्द्र स्थायी र दुई अस्थायी गरी १ सय ८ मतदान केन्द्र र ८६ मतदान स्थल रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रमीला रिजालले बताइन् । उनका अनुसार जिल्लामा कर्मचारीका लागि कारागारका कैदी बन्दीका लागि एक एक मतदान केन्द्रको स्थापना गरिएको छ । कर्मचारी र कारागारमा रहेका कैदी बन्दीले सामानुपातीक तर्फ मात्रै मतदान गर्न पाउने व्यवस्था छ ।
जुम्लाको सुरक्षा निकायले पार्टीका कार्यकर्ताहरूको झडप, आपराधिक समूहको गतिविधि, अवैध हातहतियारलाई चुनौतीका रूपमा लिएको छ । निर्वाचनको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मीमा ८ सय ४३ म्यादी प्रहरी , २ सय २६ नेपाल प्रहरी ,४ सय ५० नेपाली सेना , र २ सय ३५ सशस्त्र प्रहरी रहेका छन् । बिहीबारसम्म मतदान केन्द्रमा कर्मचारी पुग्नुपर्नेछ । त्यस्तै जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार सबै मतदान स्थलहरूमा सुरक्षाकर्मीहरू बिहीबार पुग्ने बताए । त्यस्तै निर्वाचनको लागि ८ सय ४८ कर्मचारीहरू खटाइएको छ । रातोपाटी
