प्रकाशमान सिंह योग्य व्यक्ति पनि हुनुहुन्छ: डा. बाबुराम भट्टराई

२५ कार्तिक २०७९, शुक्रबार ११:२२

काठमाडौं क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको चुनाव प्रचार कार्यक्रममा डा. बाबुराम भट्टराई पनि सहभागी भएका छन् ।

प्रकाशमान योग्य र स्वच्छ छविको व्यक्ति भएकाले आफू उनका लागि भोट माग्न आएको काठमाडौं महानगरपालिका वडा नं.३१ को आलोकनगर क्षेत्रको कार्यक्रममा सहभागी भएका डा.भट्टराईले बताए ।

‘उहाँ (प्रकाशमान सिंह) आफैं स्वच्छ छवीको व्यक्तित्व हुनुहुन्छ, त्यसैले उहाँले जित्नुपर्छ । त्यसो भएको हुनाले उहाँको पक्षमा मत माग्न आएको हुँ ।’ बाबुरामले भने, प्रकाशमानसँग आफ्नो पहिलेदेखि नै पारिवारीक सम्बन्ध पनि रहेको उनले बताए ।

आफूहरुले प्रतिगमनकारीविरुद्ध गठबन्धन गरेको र अहिलेको निर्वाचन विशिष्ट भएको डा.भट्टराईले बताए । उनले भने, ‘सामान्य अवस्थामा बहुदलीय लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ । अहिले हामीले निर्माण गरेको, संघर्ष गरेर ल्याएको जुन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान छ, त्यसमाथि नै प्रहार भएको हुनाले प्रतिगमनकारी शक्तिहरु विरुद्ध, हाम्रो अग्रगमन शक्तिहरुको गठबन्धन हो । यो, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह योग्य व्यक्ति पनि हुनुहुन्छ।’