अनुहारमा चाउरी पर्दै जान थालेपछि बुढ्यौलीले छोप्यो भन्ने चिन्ता धेरैलाई हुने गर्छ । चाउरी घटाएर बुढ्यौलीलाई पर धकेल्ने केही घरेलु उपाय यस्ता छन्, जसलाई दिनहुँ प्रयोगमा ल्याउन सकिन्छ ।
अनुुहारमा चाउरी पर्नु कारण खानपानको विषय पनि रहेको एक अध्ययनले देखाएको छ । खानपान पनि छालामा आउने विभिन्न समस्यामध्ये एउटा कारक हो । खानपानको असन्तुलन वा अपुगले पनि चाउरीपन देखिन सक्छ । धुम्रपानले त चाउरीपनको समस्या ल्याउनमा ठूलो भूमिका खेल्छ । चुरोटमा भएको टक्सिनले चाउरीपनको समस्या देखिन्छ ।
छालामा हुने एन्टिअक्सिडेन्टले छालालाई पुन निर्माण गर्ने काम गर्छ । एन्टिअक्सिडेन्ट हामीले खानाको माध्यमबाट प्राप्त गर्ने भएकाले सन्तुलित खानपानको अपुगले पनि चाउरी पर्ने हुन्छ ।
खानामा हुने एन्टिअक्सिडेन्टले हाम्रो छालाको पुनर्निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छ । खानामा पाइने ‘भिटामिन ए’, ‘भिटामिन सी’ र मिनरल्स लगायतका कुराको कमी भयो भने कोलाजेन र इलास्ट्रिन बन्न पाउँदैन र छालामा चाउरी देखा पर्न सक्छ ।
हामी तागत बढाउनका लागि जसरी फलफूल खाने गर्दछौं, त्यसरी नै अनुहारमा फलफूल दल्नाले अनुहारको सौन्दर्य वृद्धि हुने गर्दछ । नियमित रुपमा अल्छी नमानीकन यसो गर्न सकेमा रसायनयुक्त कस्मेटिक प्रयोग गर्नै पर्दैन । सौन्दर्यमा निखार मात्र नआईकन अनुहारमा देखा पर्ने विविधखाले समस्याबाट मुक्त हुन समेत मद्दत गर्दछ ।
अनुहारको चाउरीपना हटाउने उपायहरु
गोलभेंडा– अचारका रुपमा प्रायः हरेकको घरमा पाइने गोलभेंडा अर्थात् टमाटरलाई अनुहारमा आएको चिल्लोपना तथा कालो दागलाई हटाउन प्रयोग गर्न सकिन्छ । रातो गोलभेंडालाई लेदो बनाएर त्यसलाई पूरै अनुहारमा लगाउने । १५ मिनेटसम्म राख्ने । त्यसपछि, चिसो पानीले मज्जाले पखाल्ने । यो प्रक्रिया अल्छी नमानीकन नियमित रुपमा गर्न सकेमा अनुहारको चिल्लोपना तथा कालो दाग क्रमिक रुपमा हटेर जान्छ ।
मेवा– मेवामा पाइने एक किसिमको इन्जाइमले छालाको मृत कोषलाई जीवित पार्ने मात्र नभईकन नयाँ कोष पनि खडा गर्न मद्दत गर्ने गर्दछ । त्यसकारण मेवाको लेप बनाएर लगातार केही महिना लगाउने हो भने छाला मुलायम हुने मात्र नभईकन छालाको सबै दाग हराएर जाने गर्दछ ।
कागती– कागती निचोरेर त्यसबाट निस्केको रसलाई दिनहुँ चिल्लो छालामा लगाउनाले छाला सफा हुने गर्दछ । सफा भएपछि निश्चित रुपमा गोरोपन पनि देखिन्छ । यदि छाला सुख्खा भएमा कागतीको रसमा दूधको तर मिसाउने अनि अनुहारमा लगाउनाले छालाको फोहोर निस्कने गर्दछ । फोहोर निस्केपछि छाला नरम तथा मुलायम हुने गर्दछ ।
केरा–सुख्खा छालामा केरालाई दूधमा मिसाई बनाएको लेप लगाएर २५ मिनेटपश्चात् सफा पानीले पखाल्दा छालामा एक प्रकारको चमक आउने गर्दछ । छालालाई छिट्टै चाउरीपनाबाट समेत बचाउने गर्दछ । यो उपाय केही महिना भने अवश्य गर्नुपर्दछ ।
बदाम–बेलुका आधा कप दूधमा दुई–तीन दाना बदाम भिजाएर राख्ने र बिहान मसिनो गरेर पेस्ट बनाउने । उक्त पेस्टलाई सुख्खा छाला भएकाहरुको अनुहारमा लगाउने । २५ मिनेटपछि सफा पानीले पखाल्ने । केही दिनको यस प्रकारको प्रक्रियाबाट छालालाई मुलायम एवम् चमकदार बनाउने मात्र नगरीकन चाउरीपनवाट पनि बचाउने गर्दछ ।
