डोटी केन्द्र भएर गएको भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न कार्यकर्तालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् ।
गएराती गएको भूकम्पमा परि घाइते भएकाहरुको यथाशीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्काल पहल गर्न, प्रभावित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश र सङ्घीय सरकारसँग प्रचण्डले अपिल गरेका छन् ।
प्रचण्डले आफ्नो फेसबुक पेजमा लेख्दै भनेका छन्, “गएराती सुदूरपश्चिमको डोटी केन्द्र भएर गएको भूकम्पमा परि जीवन गुमाउनु भएका मृतजनहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु साथै भूकम्पमा परि घाइते तथा प्रभावित परिवारको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । प्राकृतिक विपत्तीको यो दुखद घडीमा घाइतेहरुको यथाशीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्काल पहल गर्न, प्रभावित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश, संघीय सरकारसँग अपील गर्न चाहन्छु । प्रभावित जनतालाई उद्धार तथा राहतमा जुट्न मातहतका पार्टी कमिटीका कमरेडहरुलाई निर्देशित गर्न चाहन्छु ।”
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भुकम्पमा परि ५ जना घाइते र ८ जनाको ज्यान गएको थियो ।
