अहिलेको सत्ता गठबन्धन विगतको शान्ति सम्झौताकै निरन्तरता भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले बताएका छन् ।
कालीकोटको सदरमुकाम मान्मामा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले भने , ‘जुन दिन शान्ति सम्झौता भएको दिन थियो । त्यही दिन गिरीजाप्रसाद कोइरालाले लालसलाम र मैले जय नेपाल भनेको हो ।’
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन परिवर्तन विरोधी गठबन्धन भएको पनि प्रचण्डले आरोप लगाए । साथै उनले केपी ओलीले यथाअवस्थामा भोट माग्ने कुनै अधिकार नभएको बताएका छन् । उनले भने,‘ जनताले सोध्नुपर्छ संसद विघटन गर्नलाई भोट दिने ?’
गठबन्धनकै नेतृत्वमा निर्वाचनपछि सरकार बन्ने र बजेटमा कर्णालीलाई पहिलो प्राथमिकतामा राखिने प्रचण्डले प्रतिबद्धता जनाए । उनले कर्णाली करिडोर लगायतका सडक सञ्जालको स्तरोन्नती गर्ने कुरामा आफू प्रतिबद्ध रहेको पनि बताए ।
