प्रभु साह र बद्री न्यौपानेले बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका इच्छाबहादुर वाग्लेलाई साथ दिएका छन् ।
फेटा गाउँपालिकामा उनीहरुले आज (मंगलबार) संयुक्त रुपमा क्षेत्रीय सभा आयोजना गरेका छन् । वाग्लेसहित, साह र न्यौपानेले पनि उक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सत्ता गठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर ४ मा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) र एमाले–जसपा गठबन्धनबाट एमालेका एकबाल मिया उम्मेदवार छन् । बारा क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसको तर्फबाट इच्छाबहादुर वाग्ले टिकटको दाबेदार थिए । तर सत्ता गठबन्धनको भागबण्डामा बारा–४ एकीकृत समाजवादीको भागमा परेपछि पूर्व श्रममन्त्री श्रेष्ठले टिकट पाएका छन् ।
स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतको आधारमा छैटौं स्थानमा रहेको एकीकृत समाजवादीलाई कांग्रेसले सो क्षेत्र छाडेको भन्दै रुष्ट वाग्लेले स्वतन्त्र रुपमा उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएका छन् । वाग्लेलाई ‘स्वतन्त्र उम्मेदवार जिताऔं अभियान’ चलाएका प्रभु साहले साथ दिएका हुन् । प्रभु साहको अभियानमा एमाले केन्द्रीय सदस्य त्यागेर बद्रि न्यौपाने पनि लागेका छन् ।
