अहिलेको यो सत्ता गठबन्धन कम्तिमा पाँच वर्षसम्म कायम रहने नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले बताएका छन् ।
ओली तन्त्रबाट मुलुकलाई मुक्त गर्न गठबन्धन बनेको लोकतान्त्रिक–वाम गठबन्धनद्वारा रोल्पामा आयोजित कार्यक्रममा बोल्दै पुनले बताए । शक्ति पृथकीकरणको सिद्धान्त विपरीत काम गरेको तथा न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्तक्षेप गरेको पुनले आरोप समेत लगाए ।
विगतका विचार मिल्ने वामपन्थी दलसँग चुनावी तालमेल र एकीकरण गएर गए पनि लक्ष्य अनुसार काम नभएकाले अहिले कोर्ष करेक्सन गरिएको तर्क पुनले गरे । रोल्पाका ३० वर्षमा कांग्रेस र माओवादी मिलेको भन्दै उनले बागीलाई कुनै हालतमा सहयोग नहुने बताए ।
रोल्पाको प्रदेश (ख) मा कांग्रेसका अमरसिंह पुन सत्ता गठबन्धनका साझा उम्मेदवार भएको क्षेत्रमा माओवादी केन्द्रका दीपेन्द्र पुन (सिजल) बागी उम्मेदवार रहेका छन् । भित्री र बाहिरी कुरा राजनीतिमा नहुने भन्दै उपमहासचिव पुनले कांग्रेसका पुनलाई जिताउने जिम्मा माओवादीले लिने उल्लेख गरेका छन् ।
