पूर्व सांसद तथा कांग्रेस नेतृ मैयादेवी श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको छ।
चितवन मेडिकल कलेजमा उपचारको क्रममा आइतबार (आज) बिहान १ बजेर १० मिनेटमा निधन भएको उनका धर्म पुत्र टंकनाथ पौडेलले जानकारी दिए। नेतृ श्रेष्ठलाई गत असोज २५ गतेदेखि निमोनिया भिएपछि अस्वस्थ बनेकी थिइन्। उनले पार्टी र समाजका लागि गरेको सेवाको कारण दानबिरकै उपनामले चिनिने गरेकी थिइन् ।
उनले कांग्रेसको केन्द्रिय कार्यालयका लागि रवी भवनमा तीनतले घरजग्गा पार्टीलाई दान, नारायणगढमा हाल सञ्चालनमा रहेको वालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा दान, भरतपुरमा मैयादेवी कन्याकलेज स्थापना, चितवन काँग्रेसकालागि नारायाणगढको मुटुमै भवन दान तथा विभिन्न संघ संस्थालाई करोडौँ आर्थिक सहयोग तथा जग्गा दान गरेकी छन्।
चितवनमा पठन पाठको सुरुवात गर्नका लागि उनले भारतको दार्जलिङ्गदेखि शिक्षक ल्याएकी थिईन्। गोरखाबाट २०४८ सालमा सांसदमा निर्वाचित भएकी थिईन भने पछि मनोनित राष्ट्रिय सभाको सांसद गरी लगातार १२ वर्षसम्म सांसद बनेकी थिइन्।
