आलीको तानाशाह प्रवृतिले जनचाहना अनुसारको काम हुनसकेन: नेता बलदेव

५ कार्तिक २०७९, शनिबार १५:००

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण वाम गठबन्धनले पाँच वर्षसम्म जनचाहना अनुसारको काम गर्न नसकेको माओवादी केन्द्रका नेता चक्रपाणि खनाल (बलदेव) ले बताएका छन् ।

शनिबार वाणगंगा वडा नं. ४ गजेहडामा गठबन्धनको प्रचारप्रसार तथा सम्पर्क कार्यालयको उद्घाटन गर्दै नेता खनालले सो कुरा बताएका हुन् । ओलीको तानाशाही प्रवृत्ति कारण जनताले भने जसरी मुलुक विकास नहुनसक्नुको प्रमुख कारण भएको उनले बताए । गठबन्धनले पाँच वर्षसम्म जनचाहना अनुसारको काम गर्न नसके पनि एउटा महत्त्वपूर्ण काम भने गरेको उनले उल्लेख गरे ।

‘ओलीराज र उनको तानाशाहले संविधान च्यात्ने र मास्ने काम गरिरहेको थियो, त्यसलाई बचाउन दलहरू मिलेर गठबन्धन बनायौँ, यही गठबन्धनले संविधान जोगाउन सफल भएको छ । उनले उक्त कार्यालय उत्द्घाटन कार्यक्रममा बोल्दै भने।’

नेता खनाल आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभा सदस्य पदमा कपिलवस्तुको क्षेत्र नम्बर १ बाट गठबन्धनका साझा उम्मेदवार हुन् ।