अभिनेता रामचन्द्र अधिकारीलाई शनिबार डिस्चार्ज गरिने

४ कार्तिक २०७९, शुक्रबार १३:३७

अभिनेता रामचन्द्र अधिकारीलाई शनिबार डिस्चार्ज गरिने भएको छ ।

नेपाल चलचित्र कलाकार संघले अभिनेता अधिकारीको उपचारमा सहयोग गर्दै आएको छ र अभिनेता अधिकारीलाई शनिबार डिस्चार्ज गरिने भएको जानकारी दिएको हो । संघका सदस्य गोपाल ढकालले भने ‘उहाँको स्वास्थ्य सुधारोन्मुख छ र शनिबार डिस्चार्ज गर्ने जानकारी चिकित्सकले दिएका छन्,’।

उनी चावहिलस्थित मेडिकेयर अस्पतालमा निमोनिया भएपछि उपचाररत छन् । सामाजिक सञ्जालमाउपचाररत अभिनेता अधिकारीको निधन भएको भन्दै हल्ला फैलिएपछि कलाकार संघ र स्वयं अधिकारीले यसप्रति खेद जनाएका छन् ।

कलाकार संघले विज्ञप्ति जारी गर्दै भ्रामक र कपोलकल्पित हल्लाप्रति खेद व्यक्त गरेको छ । अभिनेता अधिकारीको निधन भएको भन्दै हल्ला फैलाउने सामाजिक सञ्जालका केही पेज र व्यक्तिलाई साइबर ब्युरोमा उजुरी दिने कलाकार संघको तयारी रहे पनि अधिकारीको आग्रहपछि रोकिएको छ ।