
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूसँग ‘डिबेट’ गर्न नेपाली कांग्रेसका झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका डा.खगेन्द्र पाण्डब अधिकारीले चुनौती दिएका छन्।
आफू ओलीसँग जुनसुकै विषयमा डिबेट गर्न तयार भएको डा. अधिकारीले जानकारी दिएका छन्। एमाले अध्यक्ष ओली र आफू यसैक्षेत्रका प्रतिस्पर्धी उम्मेदवार भएकाले क्षेत्रका समस्या, एजेण्डाका विषयमा डिबेट गर्न तयार भएको उनले बताएका छन्।
‘ओलीजी, किन टाढाका ब्यस्त नेतासँग अनलाइनमा दोहोरी खेलेर समय बर्वाद गर्न गर्नुहुन्छ ? कुन विषयमा, कति समय डिबेट गर्ने हो ? झापामै आउनुहोस्, जुममा होइन लाइभमै बसेर आमनेसामने टेवलटक गरौँ। म टेवलटक मात्रै हैन निर्वाचनमा टक्कर गर्न र यसपटक तपाईलाई परास्त गर्न तपाईकै क्षेत्रमा खडा भएको छु,’ उनले भने।
कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवालाई डिबेट गर्न दुई दिनअघि एक कार्यक्रममा ओलीले चुनौती दिएका थिए। झापा–५ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका डा.अधिकारीले आफ्ना पार्टी अध्यक्ष विरुद्ध बहस गर्न ओलीले चुनौती दिएको भन्दै उनले त्यसको जवाफ दिँदै थप चुनौती दिएका हुन्।
