जनतालाई मालिक बनाउने गरी काम गर्ने सपना छ: रामचन्द्र पौडेल

३० आश्विन २०७९, आईतवार १४:०४

जनतालाई मालिक बनाउने गरी काम गर्ने सपना भएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्नु अहिलेको मुख्य लक्ष्य रहेको आज व्यास नगरपालिका १२ स्थित कमलबारीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बताएका हुन्।

सहिदको बलिदानबाट प्राप्त भएका जनता अधिकारलाई कुठराघात गर्ने प्रवृत्ति हाबी हुँदै गएकाले त्यसको रक्षाका लागि गठबन्धनले खबरदारी गर्दै आएको उनले बताए ।

“विदेसिने युवा शक्तिलाई स्वदेशमा बसेर रोजगारी गर्ने वातावरण मिलाइने गरी काम गरिनेछ ।” नेता पौडेलले भने, । यस्तै गठबन्धनका प्रदेशसभा सदस्यका उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हरिबहादुर चुमानले गठबन्धन सत्ता, पद, निर्वाचनका लागि मात्रै नभई राष्ट्रियतासँग जोडिएको बताए ।

देशमा सुशासन कायम गर्न सकिए मात्रै प्रजातन्त्रको स्थायित्व र भ्रष्टाचारलाई निरुत्साहित गर्न सकिने उनको भनाइ थियो । शुक्रबारदेखि गठबन्धनका उम्मेदवारले तनहुँ क्षेत्र नं १ अन्तर्गतका विभिन्न वडामा पुगेर घरदैलो र कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीव्रता दिन थालेका छन् ।