
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको निधनप्रति समवेदना व्यक्त गरेका छन्।
प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन् ‘‘नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको आज बिहान १०३ वर्षको उमेरमा दुःखद् निधन भएको खबरले हामी सबै नेपालीलाई स्तब्ध बनाएको छ । उहाँको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।
नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाई स्थापित गर्न उहाँले गर्नुभएको योगदान सम्पूर्ण नेपालीका लागि चीर स्मरणीय रहनुका साथै १०३ वर्षको उमेरमा पनि उहाँको सामाजिक क्रियाशीलता विश्वभरिका मानव समुदायलाई उत्पे्ररणाको श्रोत बनेर रहने छ । नेपाल सरकार र नेपाली जनताले उहाँको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहने छन् भन्ने मैले विश्वास लिएको छु ।’’
ललितपुर निवासी संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको हो । प्रोटेस्ट तथा मुटुको समस्याबाट जोशी विगत लामो समयदेखि पीडित थिए ।
