चुनाव जित्ने देखेपछि टिकट नै खोसियो: भीम रावल

२७ आश्विन २०७९, बिहीबार १३:४४

एमाले नेता भीम रावलले आफूलाई हराउन नसकिने निष्कर्ष निकालेपछि उम्मेदवारै बन्न रोकिएको बताएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले आफूलाई कुनैपनि हालतमा चुनाव हराउन नसकिने अवस्था भएपछि टिकट दिनबाट बञ्चित गरिएको बताएका हुन् ।

‘मलाई कसरी रोक्न सकिन्छ भनेर छलफल गरेका सूचनाहरु आई नै रहेका थिए । मलाई हराउन सकिँदैन भन्ने भएपछि उम्मेदवारी रोकियो । मेरो उम्मेदवारी रोकिँदा जनता र कार्यकर्तामा उत्पन्न हुने प्रतिक्रियाका कारण सिफारिस नै नभएको व्यक्तिलाई उम्मेदवार बनाइयो’ रावलले भने, ‘यस्तो गर्नु कार्यकर्ता र जनताको भावनालाई कुल्चनु हो । यस्तो कार्य गर्नु स्वेच्छाचारी निन्दनीय कार्य हो ।’

आम चुनावको चर्चा हुन थालेपछि आफू विरुद्ध षड्यन्त्र हुन थालेको रावलले बताएका छन् । ‘आम निर्वाचनको चर्चा हुन थालेपछि मैले चुनाव नलड्ने भनेर सुनियोजित प्रचार भयो । मेरो एकल उम्मेदवारी सिफारिस भएपछि मेरो घरमा आएका सुदूरपश्चिमका नेता कार्यकर्तालाई चुनाव लड्न तयार रहेको भनेको थिए । अछाम एकबाट चुनाव लड्ने भन्दै आफ्नो मन्तव्य समेत दिएको थिए । त्यो भेला रोक्ने प्रयास समेत गयो चुनाव नलड्ने भन्ने भनि गरिएको प्रचारको खण्डन गरेपछि सम्पर्कविहीन भएको भन्दै कुप्रचार गरियो’ रावलले भने– ‘मैले ओलीजीसँग सम्पर्क गरेपछि मैले माफी मागेपछि टिकट दिने अर्को प्रचार आयो । माफी माग्नुपर्छ भन्ने हास्यास्पद भएको भन्दै प्रतिक्रिया दिए ।’

‘अछाममा मैले चुनाव जित्ने वा हार्ने सोधखोज गर्दा हराउन नसकिने निष्कर्षपछि मेरो उम्मेदवारी रोकिएको सुनियो,’ उनले भने।

‘होलीवाइनका प्रवर्द्धकलाई समानुपातिक टिकट दिने, एमालेका कार्यकर्तालाई बर्बरतापूर्वक दमन गर्नेलाई मकवानपुर टिकट दिने र संविधान दिवसलाई कालो दिवस मनाउनेसँग साँठगाँठ गर्ने कुन सिद्धान्तमा पर्छ?’, उनले भने।

अछाम १ मा रावल सर्वसम्मत सिफारिस भएका थिए। उनको स्थानमा एमालेले माओवादी छोडेर भर्खरै आएका झपट बोहोरालाई उम्मेदवार बनाएको छ।