
जनता समाजवादी पार्टी, (जसपा) नेपालले लुम्बिनी प्रदेशमा बहालवाला मन्त्रीसहित २९ जनाको उम्मेदवारी दर्ता गरेको छ । प्रतिनिधि सभातर्फ संघीय सरकारका भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद इस्तियाक राईले बाँकेको क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका छन् ।
सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँग चुनावी तालमेल गर्न पुगेको जसपाले तराई मधेशका १४ जिल्लामा चुनावी तालमेल गरेको छ । जसअन्तर्गत लुम्बिनी प्रदेशको नवलपरासी, रुपन्देही र कपिलवस्तुमा चुनावी तालमेल गरेको छ । बाँकी जिल्लाहरूमा एकल उम्मेदवारी दिएको जसपाले प्रदेशका ९ जिल्लामा उम्मेदवारी दर्ता गराएको छ ।
जसपाको तर्फबाट बर्दिया क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फ रेशमबहादुर खत्रीले उम्मेदवारी दिएका छन् भने सोही क्षेत्रको प्रदेश सभातर्फ १(१)मा दिलीप बर्मा र १ (२)मा कृष्ण यादवले उम्मेदवारी दिएका छन् । त्यस्तै क्षेत्र नं. २ को प्रदेश सभातर्फ २(१) मा शान्ता पौडेल र २(२) मा मोहम्मद नसिब खानले उम्मेदवारी दिएका छन् ।
बाँके क्षेत्र नं. १ को प्रतिनिधि सभातर्फ रामबहादुर यादव तथा प्रदेश सभातर्फ १ (१) मा अम्मरबहादुर खड्का र १ (२) मा लालबहादुर शाह उम्मेदवार बनेका छन् । त्यसैगरी क्षेत्र नं. २ मा भौतिक पूर्वाधार विकासमन्त्री तथा जसपा लुम्बिनी प्रदेशका इन्चार्ज मोहम्मद इस्तियाक राई प्रतिनिधि सभामा उम्मेदवार बनेका छन् भने प्रदेश सभातर्फ २ (१) मा अदेश अग्रवाल र २(२) मा भण्डारीलाल यादवले उम्मेदवारी दिएका छन् ।
Bizbazar
Saurya island
बाँके क्षेत्र नं. ३ मा प्रतिनिधि सभाका लागि नोयन्द्र धिताल उम्मेदवार बनेका छन् भने प्रदेश सभातर्फ ३ (१) मा गयासुद्दीन खान र ३ (२) मा विजयकुमार पाठकले उम्मेदवारी दिएका छन् ।
दाङ क्षेत्र नं. १ को प्रदेश सभातर्फ १(१) मा जगतराम यादव उम्मेदवार बनेका छन् भने क्षेत्र नं. ३ को प्रतिनिधि सभातर्फ देवीलाल डाँगी उम्मेदवार बनेका छन् । जसपाले अर्घाखाँची जिल्लाबाट प्रतिनिधि सभातर्फ नेत्र थापालाई उम्मेदवार बनाएको छ भने प्रदेश सभातर्फ टुकबहादुर तेवालीलाई उम्मेदवार बनाएको छ । त्यस्तै गुल्मी जिल्लाको प्रदेश सभातर्फ घनश्याम पाण्डेलाई उम्मेदवार बनाएको छ ।
पार्टीका तर्फबाट पाल्पा क्षेत्र नं. १ मा मेहरमान राना प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् । क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका लागि द्रुपता सोमै उम्मेदवार बनेका छन् भने प्रदेश सभातर्फ २ (१) मा खिकबहादुर रेश्मी उम्मेदवार बनेका छन् ।
एमालेसँग चुनावी तालमेल गरेको तीन जिल्लामा जसपाले नवलपरासी जिल्लाको क्षेत्र नं. २ को प्रदेश सभा २ (२) मा धरेन्द्र यादवलाई उम्मेदवार बनाएको छ । रुपन्देही जिल्लामा ३ सिट पाएका जसपाले क्षेत्र नं. ३ को प्रदेश सभातर्फ ३ (१) मा महेन्द्र यादवलाई उम्मेदवार बनाएको छ । रुपन्देही क्षेत्र नं. ४ को प्रतिनिधि सभातर्फ ओमप्रकाश यादव गुल्जारी उम्मेदवार बनेका छन् भने ४ कै प्रदेश सभातर्फ ४ (२) मा रामअवतार यादव उम्मेदवार बनेका छन् ।
त्यसैगरी कपिलवस्तु जिल्लामा प्रदेश सभातर्फ ३ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं. १ को प्रदेश सभातर्फ १ (२) मा मेवालाल यादव, २ (२) मा अब्दुल रसिद खान र ३ (२) मा अशोककुमार यादवले उम्मेदवारी दिएका छन् । अहिले चुनावी तालमेल एवं गठबन्धनको सकस र पार्टी संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको अवस्थामा जसपाले लुम्बिनी प्रदेशमा २९ जनाको उम्मेदवारी दर्ता गराउन सफल भएको पार्टीका राजनीतिक समिति एवं केन्द्रीय निर्वाचन तयारी समितिका सदस्य मनिकर कार्कीले बताए ।
