खडक प्रसाद ओलीको कदमप्रति पूर्व माओवादीहरु असन्तुष्टि

१२ आश्विन २०७९, बुधबार १३:३५

पार्टीमा परामर्श नै नगरी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक लिष्ट तयार पारेर निर्वाचन आयोगलाई बुझाएको भन्दै पार्टीमा असन्तुष्टी बढेको छ ।

एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभा र प्रदेश सभा तर्फ समानुपातिक लिष्ट बनाउँदा आफूहरुसंग कुनै छलफल नगरेको भन्दै पूर्व माओवादी समूहरु रुष्ट भएका छन् । एक पूर्व माओवादी पदाधिकारीका अनुसार पार्टीमा केपी ओलीले पार्टीसँग कुनै परामर्श नगरी खल्तीका मान्छेलाई मात्र समानुपातिकमा समेटेकाले असन्तुष्टि बढेको हो ।

‘माओवादी हुँदा प्रचण्ड कमरेड थोरै भएपनि छलफल र परामर्श गर्नुहुन्थ्यो । यहाँ केपी कमरेडले कसैलाई सोधपुछ गर्नु भएन । पार्टीका को–को नेतालाई समानुपातिकमा राख्नुभयो थाहा छैन’ ती नेताले भने, ‘निर्वाचन आयोगले नाम सार्वजनिक नगर्दा सम्म थाहा नहुने भयो । अहिलेसम्म केही थाहा छैन ।’

समानुपातिक लिष्ट सार्वजनिक भएपछि पूर्व माओवादी नेताहरुलाई नसमेटेमा विद्रोह हुन सक्ने ती नेताले बताए । ‘हामीले माओवादीमा हुँदा खादाको सांसद पद गुमाएर केपी कमरेडलाई समर्थन गर्यौ ।

प्रत्यक्षमा नसमेटेका नेतालाई समानुपातिकमा समेट्नु पर्यो । यदी नसमेटेमा पार्टीमा विद्रोह हुनसक्छ’ ति नेताले भने । ओलीले आफ्नो गुटका नेताहरुसँग मात्रै छलफल गरेर पठाएपछि माओवादी समूहका नेताहरुले बाहिरै असन्तुष्टि पोख्न थालेका हुन् ।