नागरिकता विद्येयक राष्ट्रपतिले प्रमाणीकरण नगरेर पदीय मर्यादाबाट चुकेकोले तत्काल पदबाट राजीनामा दिनुपर्ने पूर्व वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी पदीय दायित्वबाट चुकेकोले तत्काल राजीनामा दिनुपर्ने बाराको जीतपुर सिमरा र करैयामाई गाँउपालिका जोड्ने मधुवन–खम्वा, पसाहा पुल र जैतापुर–रघुनाथपुर पसाहा पुल उद्घाटन कार्यक्रममा बोल्दै यादवले बताएका हुन् ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विद्येयक राष्ट्रपतिबाट फिर्ता पठाउनु देशको लागि दुर्भाग्य भएको भन्दै यादवले भने, ‘उहाँ पदीय दायित्वबाट चुक्नुभएको छ । पदीय मर्यादाको हिसाबले उहाँ पदबाट मुक्त हुनुको अरु विकल्प म देख्दिनँ । कि त प्रमाणीकण गर्नुपर्यो कि त पदीय दायित्ववाट मुक्त हुनुपर्यो’।
राजनीतिक दलको प्रभावमा परेर काम गर्न नहुने र राष्ट्रपति व्यक्ति नभइ संस्था भएको उनले बताए । एमालेले उचालेकै भरमा संघीय संसदबाट पारित भइसकेको विद्येयकलाई राष्ट्रपति रोक्न नमिल्ने यादवले बताए ।
अगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशसभा सदस्य निर्वाचनमा नागरिकता विद्येयक एमाले विरुद्धको चुनावी एजेण्डा बनाएर जनतामाझ लैजाने बारा क्षेत्र नं २ का निर्वातमान सांसद समेत रहेका यादवले बताए ।
बिगतमा केपी ओली सरकारले हुबहु अध्यादेशको रुपमा राष्ट्रपति कहाँ पठाएको विद्येयकमा सर्वोच्च अदालतले ऐन कानुन बनाएर मात्रै गर्नु / गराउनु भनेकोले त्यसलाई कानुनी रुप दिन विद्येयक अगाडि बढाएको यादवको भनाइ छ ।
‘प्रतिनिधि सभा र राष्ट्रियसभाबाट पारित भएर राष्ट्रपति कहाँ जादाँ फिर्ता पठाउनु भयो, संवैधानिक हक थियो एकचोटी १५ दिनभित्र फिर्ता पठाउन सक्नुहुन्छ, तर पुनः संसदले पारित गरेको विद्येयकलाई प्रमाणीकरण गनुपर्ने व्यवस्था छ संविधानमा । त्यसकारण प्रमाणीकरण किन भएन त्यहाँ हाम्रो आपत्ती छ’ । यादवले भने ।
