
माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको सङ्घर्षको आवश्यकता भएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।
अध्यक्ष प्रचण्डले डा.बाबुराम भट्टराई र आफू मिल्दा नेपालमा युगान्तकारी जनयुद्ध सफल भएको उल्लेख गर्दै अब समाजवादका लागि पनि आफूहरु मिल्नै पर्ने निष्कर्षमा पुगेको नेपाल समाजवादी पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बताका हुन्।
“ भट्टराई र मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका हौँ । सोही अनुसार भएको १० वर्षको त्यो जनयुद्धले देशलाई ठूलो उथलपुथल गर्यो । अहिले फेरि समाजवादका लागि एउटा नयाँ खालको सङ्घर्षको आवश्यकता छ भन्ने निष्कर्षमा पुगेका छौँ ।” उनले भने ।
अध्यक्ष प्रचण्डले माओवादी विभाजनको तीतो प्रयोग नेपाली समाजमा भएको र त्यसले परिणाम सही ल्याउन नसकेको निष्कर्षमा भट्टराई र आफू पुगेको बताए । घटनाक्रमले के साबित गर्यो भने हामी अलग–अलग प्रयोग गर्न हिँड्दा माओवादी जनयुद्ध, त्यसको ऐतिहासिक भूमिका, त्यसले स्थापित गरेका मूल्य मान्यता, त्यसले ल्याएका परिवर्तन धरापमा पर्ने खतरा देखापरेको उनले उल्लेख गरे।
