राष्ट्रपति विद्यादेवी भण्डारी संविधान विपरितको मार्गमा अघि बढेको मानवअधिकार तथा शान्ति समाजले ठहर गरेको छ ।
नागरिकता विधेयक संसदका दुवै सदनबाट पारित भएकाले नागरिकता विधेयकलाई संविधान अनुरुप प्रमाणीकरण गर्नुपर्ने तर राष्ट्रपति भण्डारी दायित्वबाट विमुख हुनु आपत्तिजनक रहेको शान्ति समाजको ठहर छ ।
संसदका दुवै सदनबाट विधेयक पुनः पारित भइसकेको अवस्थामा राष्ट्रपतिले त्यसलाई प्रमाणीकरण गर्नु या पदबाट राजीनामा दिनुबाहेक अर्को विकल्प हुन नसक्ने शान्ति समाजका सभापति गोविन्द खनालले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विधेयकलाई प्रमाणीकरण नगरी संसदीय सर्वोच्चतालाई चुनौती दिँदै राष्ट्रपति भण्डारीको कदम संविधान विपरित हुनुका साथै लोकतन्त्र विरोधी रहेको खनालको भनाइ छ ।
सरकार र जिम्मेवार राजनीति दलहरूलाई राष्ट्रपति भण्डारीको संविधान विरोधी कृत्यको सम्बन्धमा संवैधानिक मर्यादाको सीमाभित्र रहेर न्यायिक हल खोज्न पनि शान्ति समाजले आग्रह गरेको छ । राष्ट्रपति भण्डारीको असंवैधानिक कदमको विरोध गर्ने नाममा कुनै पनि असंवैधानिक अभ्यास र अराजकतालाई बढावा दिने काम सरकारले गर्न नहुने समाजले सचेत गराएको छ ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले उपराष्ट्रपति पदको मर्यादा र गरिमा विपरित गरेको टिप्पणीको पनि शान्ति समाजले विरोध गरेको छ ।
