नेकपा एकीकृत समाजवादी पार्टी छोडेर केन्द्रीय सदस्य डा.बालकृष्ण चापागाई आइतबार एमालेमा फर्किएका छन् ।
डा. चापागाई नेकपा एसका केन्द्रीय सदस्य, अर्थ तथा योजना विभागका केन्द्रीय उपप्रमुख र पार्टीका निवर्तमान रुपन्देही इन्चार्ज समेत थिए । डा. चापागाई आइतबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै नेकपा एमालेमा फर्किएको घोषणा गरेका हुन् ।
तत्कालीन नेकपाको सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा उनले रुपन्देहीबाट एमालेभित्र विद्रोह गर्दै विज्ञप्ति निकालेर एमाले छोडेका थिए । एमालेभित्र विद्रोह गर्दै विज्ञप्ति निकालेर एमाले छोडेका चापागाई किन फेरि एमालेमै फर्किए भनेर धेरै नेताहरु चकित परेका छन् ।
आफ्नो पार्टी एकीकृत समाजवादीलाई समेत पूर्व जानकारी नदिई डा.चापागाई एमाले प्रवेश गरेपछि समाजवादीका स्थानीय नेता नै चकित परेका हुन् । ‘मलाई कुनै जानकारी थिएन, एक्कासी मिडियामार्फत उहाँ एमालेमा प्रवेश गरेको खबरले आश्चर्य लाग्यो ।’ एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अविराम विकले भने ।
पार्टीको काम गर्न अल्छी मान्ने, संगठनमा पर्याप्त समय नदिने, संगठन निर्माणका लागि ग्रामीण इलाकाहरुमा जान नमान्ने, कार्यक्रममा पुगिहाले पनि पूरा समय नदिने लगायतका कमीकमजोरी चापागाईमा भएको तर पार्टीभित्र खासै ठूलो विवाद नभएको समाजवादीका जिल्ला अध्यक्ष विकले बताए ।
