नेकपा एमालेले माओवादी केन्द्रलाई आफूतिर तान्न प्रयास जारी राखेको छ ।
कांग्रेससँग कुरा नमिले आफूतिर आउन भन्दै एमालेले माओवादीलाई आकर्षक प्रस्ताव पठाएको छ । एमालेले ६५ देखि ७० सिटसम्म माओवादीलाई दिन तयार भएको प्रस्ताव पठाएको स्रोतले जनाएको छ ।
माओवादीका तर्फबाट भने एमालेले गरे प्रस्तावको कुनै पनि जवाफ नआएको एमाले स्रोतले जनाएको छ। बुधबार बुटवलमा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफू निकट केही नेता कार्यकर्तासँगको गोप्य भेटमा माओवादीलाई यस्तो प्रस्ताव पठाएको खुलासा गरेका हुन्।
उनले सत्ता गठबन्धन तोड्न हरसम्भव प्रयास भइरहेको भन्दै माओवादीलाई पठाएको प्रस्तावबारे सुनाएका थिए । बुटवलको एक होटलमा भएको भेटमा उपाध्यक्ष पौडेलले सहभागीलाई निराश नहुन भन्दै एमाले र माओवादी एक भएर अघि बढ्ने सम्भावना अझै रहेको बताएका थिए ।
उनका अनुसार यदि कांग्रेसले धेरै सिट दिएन भने तालमेलका लागि एमाले तयार रहेको सन्देश माओवादीलाई पठाइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले ६० देखि ७० सिट माओवादीलाई दिन सकिने भन्दै प्रस्ताव पठाएको उपाध्यक्ष पौडेल बताएका छन् । तर माओवादीका तर्फबाट अहिलेसम्म जवाफ नआएको पौडेलले सुनाएका छन् ।
