नेपाललाई १० वर्षभित्र साँच्चिकै विकासको गतितर्फ लान सक्ने सम्भावना भएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।
‘हामीले चाहेमा चमत्कार गर्न सकिन्छ। हामी राजनीतिलाई अब विकास र समृद्धिका लागि लाग्न सक्छौं। देशलाई १० वर्षमै साँच्चिकै समृद्ध बनाउन सक्छौं।’ काठमाडौंमा आइतबार आयोजित युवा समिट कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने ।
कृषिमा आधारित उद्योगहरूको विकास गरे मात्रै देशको आर्थिक स्थिति बलियो बन्ने प्रछण्डको भनाई थियो। देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि भएको बताउदै प्रचण्डले भने, “पछाडि धकेलिँदै गएको देशको अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्छ। कृषिपछि जलविद्युत, पर्यटन, जडीबुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्छ।”
युवाहरू उद्यमशील हुन चाहेमा देशलाई आत्मनिर्भर अर्थतन्त्रको बाटोमा हिँडाउन सकिने उनले बताए। धन, सम्पत्ति कमाउनु र देशलाई सभ्य बनाउनु फरक कुरा रहेको भन्दै प्रचण्डले समाजलाई सभ्य बनाउने गरी संसारमा नेपालीहरूको आत्मसम्मान कायम हुने सम्पत्ति आर्जन गर्न युवाहरूलाई आग्रह गरे।
यस्तै उनले लक्ष्य प्राप्तिका लागि दृढ हुनुपर्नेमा जोड दिएका छन्। प्रचण्डले आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिको लागि व्यतित गर्ने बताए। राजनीतिक एजेन्डामा अब अल्झिरहने अवस्था नरहेकाले देशलाई विकासको मार्गमा लानुपर्ने प्रचण्डको भनाई थियो।
