आगामी निर्वाचनमा युवाहरुलाई देशभित्र नै स्वरोजगारको वातावरण बनाउने कुरा नै आगामी निर्वाचनको मुख्य मुद्दा बन्नुपर्ने युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले बताएका छन् ।
मन्त्री गहतराजले आइतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै आगामी निर्वाचनमा युवाहरुलाई देशभित्र नै स्वरोजगारको वातावरण बनाउने कुरा नै आगामी निर्वाचनको मुख्य मुद्दा बन्नुपर्ने बताएका हुन् ।उनले युवा र स्वरोजगारका मुद्दालाई अघि बढाउने पार्टीहरुले नै आगामी देशको बागडोर सम्हाल्नुपर्ने बताए ।
यस्तै मन्त्री गहतराजले देशभित्र नै स्वरोजगारको वातावरण बनाउने कुराले अहिले विदेश पलायन भइरहेको युवा शक्तिलाई रोक्ने र युवा तथा खेलकुद मन्त्रालयलाई दुई भागमा विभाजन गर्न आवश्यक रहेको समेत बताए । उनले युवा तथा खेलकुद मन्त्रालयलाई युवा, श्रम तथा रोजगार मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयको रुपमा विकास गर्न आवश्यक रहेको बताए ।
उनले भने– ‘मैले जुन मन्त्रालय सम्हालिरहेको छु, मलाई अहिले अनुभूति भएको छ, हामीले हिजो जुन मन्त्रालय बनायौँ, यो मन्त्रालयको कार्य विभाजन अझै मिलिरहेको छैन भन्ने लागेको छ । त्यसैले मैले अहिले छलफल गरिरहेको छु, युवा तथा खेलकुद मन्त्रालयलाई दुई भागमा बाँड्नुपर्छ । एउटा युवा, श्रम तथा रोजगार मन्त्रालय र अर्को खेलकुदलाई पनि शिक्षाकै रुपमा लिएर शिक्षा तथा खेलकुद मन्त्रालयको रुपमा विकास गर्न आवश्यक छ।’
