बलात्कारको आरोप लागेपछि सन्दीप सीपीएल खेल खेलेर फर्कने

२३ भाद्र २०७९, बिहीबार १२:३५

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणीको आरोप लागेको छ ।

जबरजस्ती करणीको आरोप लागेपछि कप्तान सन्दीपले नेपाल क्रिकेट संघ क्यानलाई गुहारेका छन् । नेपाल क्रिकेट संघ क्यानसंग सन्दीपले कानुनी उपचारका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।

कप्तान सन्दीप हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज (जमैका)मा रहेका उनले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताए। ‘कानुनी उपचारका लागि सहयोग गर्नुस् भन्ने कुरा भएको छ,’ क्यानका सचिव प्रशान्त विक्रम मल्लले भने ।

कप्तान सन्दीपविरुद्ध एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै बलात्कारको उजुरी दर्ता गरेकी छन् । कप्तान सन्दीपलाई बलात्कारको आरोप लागेको खबर सार्वजनिक भएलगत्तै क्यान अध्यक्ष चतुरबहादुर चन्द बुधबार बेलुका काठमाडौं आएका छन् । क्यान अध्यक्ष चन्द र क्यानका पदाधिकारीबीच कप्तान सन्दीपलाई लागेको आरोपका विषयमा छलफल भएको थियो ।

बुधबार राति भएको जमैका तल्लावाजको खेल सन्दीपले खेल्न नपाए पनि सीपीएलको खेल खेलेर मात्र कप्तान सन्दीप फर्कने भएका हुन् ।