विद्यार्थीहरु नै कम्युनिष्ट आन्दोलनको उत्तराधिकारी हो: प्रचण्ड

२३ भाद्र २०७९, बिहीबार ११:१६

समाजवाद निर्माणको महान अभियानमा विद्यार्थीहरुले आफूलाई तयार पार्न सक्नुपर्ने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।

अखिल क्रान्तिकारी केन्द्रीय समितिद्वारा विहीबार काठमाण्डौमा आयोजित विद्यार्थी स्वयंसेवकको राष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स घोषणा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ‘प्रचण्ड’ले यस्तो बताएका हुन्।

विद्यार्थीहरु नै कम्युनिष्ट आन्दोलनको उत्तराधिकारी भएको बताउदै आफ्नो आशा पनि विद्यार्थीहरु नै भएको अध्यक्ष ‘प्रचण्ड’ले बताए। उनले प्रश्न गर्दै भने, “जनवादी क्रान्तिमा नेतृत्वको भूमिका खेल्यौं, ‘अब के तपाई समाजवादी क्रान्तिको नेतृत्व गर्न तयारी हुनुहुन्छ ?”

संविधानसभाबाट संविधान बनाउँदै गर्दा हाम्रो निर्वाचन प्रक्रियामा देखिएको विकृति र विसंगतीलाई हटाउन एउटा अभियानको रुपमा लिएको बताउदै जनताको माझमा जान पनि अध्यक्ष प्रचण्डले आव्हानगरे।

“ टोलमा, गाउँमा पुगेर जनतामा नयाँ चेतनाको विस्तार गरी अर्को आन्दोलनतिर अगाडि बढ्न उत्प्रेरित गर्न अनुरोध गर्दछु। जतिवेला हामी जनयुद्धको तयारी गर्दा हामी तपाईहरु जस्तै थियौं, अहिले हामीहरुले जनवादी क्रान्तिलाई आफ्नो मौलिकतामा आफ्नै ढंगले पूरा गरेका छौं,। अब हामी समाजवादको क्रान्तिको नयाँ चरणमा प्रवेश गरेका छौं । त्यसको नेतृत्वको जिम्मेवारी तपाईहरुको काँधमा छ ।” अध्यक्ष प्रचण्डले भने ।