
बुटवल देखि मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको आज उद्घाटन गरिएको छ ।
नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको बुटवल–लुम्बिनी डबल सर्किट प्रसारण लाइन र त्यसअन्तर्गतको मैनहिया सब स्टेसनको आज (सोमबार) ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन् ।
बुटवल–लुम्बिनी डबल सर्किट प्रसारण लाइन र सब स्टेसनको निर्माणसँगै भैरहवा क्षेत्रमा करिब २०० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार तयार भएसंगै भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार आएको छ ।
आन्तरिक रूपमा खपत गरेर बढी भएको विद्युत् अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भुसालले बताइन्। मन्त्री भुसालले भनिन्, ‘विद्युत् नपुगेको ठाउँमा दुई वर्षभित्रमा विद्युत् पुर्याउने र पुगेको ठाउँमा पूर्वाधार निर्माण गरी गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्तिका लागि काम गरिरहेका छौँ, खाना पकाउन प्रयोग हुने एलपिजी ग्याँसको विस्थापित गर्ने, उद्योगलाई मागे जति विद्युत् दिने, यातायातमा विद्युतीय सवारी साधन प्रयोग गर्ने, कृषिको उत्पादकत्व बढाउन सिचाइमा विद्युत् प्रयोग गरी अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अगाडि बढ्नु पर्छ ।’
प्रसारण लाइन र सब स्टेसन निर्माण पछि यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने विश्वास ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले व्यक्त गरे।
