नेपालमा उच्च शिक्षा प्रदानमा कतै त्रुटि भइरहेको छ: मन्त्री पौडेल

१७ भाद्र २०७९, शुक्रबार १४:५९

शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बताएका छन् ।

शंकरदेव क्याम्पसले आयोजना गरेको ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शुक्रबार पौडेलले यस्तो बताएका हुन् । विश्वविद्यालयका समस्या समाधान गरेर तालामुक्त विश्वविद्यालय बनाइ शैक्षिक पठनपाठनको व्यवस्था गर्नुपर्ने मन्त्री पौडेलले बताए।

उनले भने, ‘विश्वविद्यालयमा ताला नलगाऔँ, मुक्त बनाऔं र पठनपाठनको व्यवस्था सिर्जना गरौँ । समस्या छन् तर त्यसलाई समाधान गरौँ । विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्छ ।’ शिक्षाको सुधारका लागि विश्वविद्यालय र शैक्षिक संस्थाहरु राम्रो हुनुपर्ने मन्त्री पौडेलले बताएका छन्।

मन्त्री पौडेलले विज्ञहरुसँग मन्त्रालयमा नेपालमै उच्च शिक्षाको अध्ययनका लागि के गर्नुपर्छ भन्ने बारेमा छलफल गरिरहेको पनि बताए । नेपालमा उच्च शिक्षा लिन नचाहेर विदेश जाने विद्यार्थीहरुको लहर चलेको भन्दै नेपालमै उच्च शिक्षा प्रदानमा कतै त्रुटि भइरहेको पनि बताए ।

यस्तै राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने नेपाली कौग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।