
गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै क्षेत्र र प्रदेश तोकेरै भागवण्डा मिलाउने तयारी भइरहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताएका छन् ।
प्रचण्डले गठबन्धनभित्र बाहिर चर्चा भएजस्तो कुनै विषयमा असहमति नभएको आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै दाबी गरे । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा चितवन ३ बाटै चुनाव लड्ने प्रचण्डले बताए । नेकपा (एकीकृत समाजवादी)सँग एकताको प्रयास भइरहेको भन्दै प्रचण्डले निर्वाचनमा एउटै घोषणा पत्र आउन सक्ने संकेत गरे ।
कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको र यो पटक प्रतिनिधि र प्रदेश दुबै सन्तुलित तालमेल गरिने प्रचण्डले बताएका छन्। सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा सफलता हासिल गरिने तर एमालेसँग कुनै प्रकारको तालमेलको सम्भावना नरहेको प्रचण्डले जिकिर गरे ।
