रुपन्देही क्षेत्र नम्बर २ बाट पौडेल र खाँणमा कसले बाजी मार्ला ?

१६ भाद्र २०७९, बिहीबार १६:०८

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा रुपन्देहीको क्षेत्र नम्बर २ बाट एमाले र कांग्रेसका शीर्ष नेताहरूबीच प्रतिस्पर्धा हुने भएको छ ।

रुपन्देहीको क्षेत्र नम्बर २  नेकपा एमालेका नेता विष्णु पौडेलले सधै चुनाव जित्दै आएको क्षेत्र हो । यो पटक गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पनि रुपन्देहीको क्षेत्र नम्बर २ बाट तिनिधि सभा निर्वाचनका लागि सिफारिस भएका छन् ।

गृहमन्त्री खाणसहित नेता युवराज गिरी र व्यवसायी चुन्नुप्रसाद पौडेलको नाम नेपाली कांग्रेस क्षेत्रीय समितिले सिफारिस गरेको हो । खाण २०७४ को निर्वाचनमा समानुपातिकमा थिए । रुपन्देही २ मा २०७४ सहित यसअघि तीनवटा संसदीय चुनावमा एमाले नेता विष्णु पौडेलले जित्दै आएका छन् ।

गृहमन्त्री खाण रुपन्देही ३ बाट पनि सिफारिस हुन सक्ने कांग्रेस रुपन्देहीका सचिव हरि काफ्लेले बताए । गिरी २०७४ को चुनावमा पौडेलसँग पराजित भएका थिए । चुन्नुप्रसाद पौडल निजी अस्पताल, चाउचाउ, हाउजिङ, होटेल र सुर्तीलगायत उद्योगका सञ्चालक हुन् ।

कांग्रेसले प्रमोद यादवलाई रुपन्देही ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारमा एकल सिफारिस गरेको छ । यादव २०७४ को चुनावमा निर्वाचित भएका थिए । यस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको नाम प्रतिनिधिसभा निर्वाचनका लागि झापाको क्षेत्र नं १ बाट सर्वसम्मत सिफारिस भएको छ ।