ज्ञवालीको प्रश्न विश्वविद्यालयमा गुण्डागर्दी हुँदा पनि किन प्रधानमन्त्री मौन ?

१३ भाद्र २०७९, सोमबार १२:३७

त्रिभुवन विश्वविद्यालयमा सरकार संरक्षित गुण्डागर्दी भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बताएको छ । विश्वविद्यालयमा बैठक बस्ने वातावरण नभएपछि बैठक लागि होटल गएर छलफल गर्दा समेत माइन्युट च्यातिएको भन्दै एमालेले प्रधानमन्त्रीमाथि नै प्रश्न गरेको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले विश्वविद्यालय गुण्डागर्दीले त्रसित भएको प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै बताए। विश्वविद्यालयमा ताला लगाएको र बैठक बस्ने अवस्था नभएपछि होटलमा जाँदा पनि माइन्युट सत्ता निकट विद्यार्थी संगठनले खोसेएको भन्दै उनले आपत्ति जनाए ।

‘आज देशको प्रधानमन्त्री कुनै बेला नेपाल विद्यार्थी संगठनको नेतृत्व गर्नुहुन्थ्यो । आजका गृहमन्त्री कुनै बेला त्यो संगठनको नेतृत्व गर्नुहुन्थ्यो । युनिभर्सिटीमा पढ्दा तत्कालीन पञ्चायतका गुण्डाहरुले आक्रमण गर्दा उहाँहरु पनि पर्नु भएको होला भन्ने ठान्छु,’ उनले भनेका छन्, ‘के अब उहाँहरुले त्यही अवतारमा आफ्नो विद्यार्थी संगठनलाई लैजान खोज्नु भएको हो ?’

‘उहाँहरुले दिने स्कुलिङ यही हो कि विश्वविद्यालयका प्राध्यापकहरुलई कुट, तिमीहरुलाई केही भयो भने प्रहरीबाट प्रोटेक्सन दिन्छौं ज्ञवालीले भने । मुद्दा चलायो भने महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा फिर्ता लिन्छौं । कस्तो सन्देश दिन खोज्दैछौं हामी ? के मौका नपाएर मात्र मण्डले नभएको हो ?’

विश्वविद्यालयमा भएको गुण्डागर्दीबारे कुलपति समेत रहेका प्रधानमन्त्री मौन बनेको भन्दै उनले आपत्ति जनाए । यसबारे गृहमन्त्री, शिक्षामन्त्री वा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै रुलिङ गर्न माग गरे । नभए संसद अगाडि बढ्न नसक्ने भन्दै एमाले सांसदहरु उठेपछि सभामुखले रुलिङ गरेका छन् ।