आज विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने भएको छ। विधायन व्यवस्थापन समितिको बैठक मध्यान्ह १२ बजे समितिको बैठक कक्षमा बस्दै छ।
आइतबार राष्ट्रियसभाको बैठकमा राष्ट्रपति विद्या भण्डारीले संशोधन विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएको सन्देश प्रस्तुत गरिएको थियो । राष्ट्रपति भण्डारीले फिर्ता पठाएको विधेयक संसदीय समितिमा छलफलका लागि पठाउन बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको थियो ।
संघीय संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष विधेयक पठाइएकोमा गत साउन २९ गते प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले सो विधेयक फिर्ता पठाएकी थिइन् ।
विधायन समितिमा राष्ट्रपतिले पठाएको सन्देशमाथि मात्रै छलफल हुने राष्ट्रियसभामा नेपाली कांग्रेसकी सचेतक अनिता देवकोटाले बताइन् । भदौ १६ गते बस्ने राष्ट्रियसभाको बैठकबाट विधेयक पारित गरेर जाने हिसावले छलफल गरिने तर आजको विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता नहुने र राष्ट्रपतिको सन्देशमाथि मात्रै छलफल हुने सचेतक देवकोटाले बताइन्।
