राष्ट्रियसभाले छलफलका लागि राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव आइतबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेका थिए । मन्त्री खाँणको प्रस्तावलाई राष्ट्रियसभाको बैठकमा सर्वसम्मतिले स्वीकृत भएको छ ।
सदनमै छलफल गर्नुपर्ने बताउँदै आएको सरकार र सत्तारुढ गठबन्धन पछाडि हटेपछि यो विधेयक विधायन व्यवस्थापन समितिमा पुगेको हो । यो विधेयकमाथि अब राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुनेछ । विषयगत समितिले अब विधेयक पारित गरेर समितिको प्रतिवेदन सहित पुनः सभामा पेश गर्नेछ ।
समितिको प्रतिवेदन प्रस्तुत भएपछि त्यसको प्रतिवेदन सदस्यलाई वितरण गरिनेछ । अध्यक्षले अन्यथा आदेश दिएमा बाहेक समितिको प्रतिवेदन वितरण भएको चौबीस घण्टापछिको कुनै बैठकमा विधेयक अगाडि बढाउन सकिन्छ । राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गतेका लागि बालाइएको छ ।
यस्तै एमाले सांसद योगेशकुमार भट्टराईले राष्ट्रपतिको यो काम हिजो पनि ठीक भएको र आज पनि ठीक बताएका छन् ।
