
केही बुद्धिजिवी भनिएकाहरूले दोहोरो चरित्र देखाएको नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आरोप लगाएका छन् ।
नागरिकता विधेयकका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय विभिन्न व्यक्तिहरूसँग गरेको छलफलका बारेमा टिप्पणी गर्नेहरूलाई सचिव भट्टराईले दोहोरो चरित्र देखाएको आरोप लगाएका हुन् ।
विभिन्न व्यक्तिहरूसँग राष्ट्रपति भण्डारीको बचाउ गर्दै छलफल तथा भेटघाट गर्ने कार्य ठीक भएको सचिव भट्टराईले दाबी गरेका छन् । उनले ट्वीटरमा सन्देश लेख्दै भनेका छन्, ‘राष्ट्रपति रामवरण यादवले आयोजना गर्नुभएका दर्जनौँ अनौपचारिक भेटघाट र छलफलमा भाग लिएका वरिष्ठ व्यक्तिहरू त्यही काम वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दा राष्ट्रपतिको अनावश्यक सक्रियता भनि टिप्पणी गर्छन । दोहोरो चरित्र ! राष्ट्रपतिको यो काम हिजो पनि ठीक थियो र आज पनि ठीक छ ।’
प्रतिनिधी सभा र राष्ट्रय सभाबाट पारित भई प्रमाणीकरणका लागि गरिकता विधेयक राष्ट्रपति सामु पठाइएको थियो । तर राष्ट्रपति भण्डारीले दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नगरी १५ बुँदे सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । फिर्ता पठाएको उक्त विधेयक प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित भई राष्ट्रिय सभामा पुगेको छ ।
