काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई नेकपा एमालेका नेता तथा भक्तपुरका सांसद महेश बस्नेतले पुनः चेतावनी दिएका छन् ।
नेता बस्नेतले काठमाण्डौको नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएसँगै मेयर साहको विरोध गरेका हुन् ।
उनले फेसबुक पेजमा लेखेको स्टाटसमा मेयर साहले ‘तपाईंकै घरको नक्सा पास छ कि छैन’ भनेर लेखेपछि बस्नेत बालेन्द्रप्रति आक्रोसित भएका हुन् । उनले सामाजिक सञ्जालबाटै पटक पटक मेयर साहको आलोचना गरेका छन् ।
एमालेका नेता महेश बस्नेतले मेयर बालेन्द्र साहप्रति शनिबार भक्तपुरमा भएको एक कार्यक्रममा पनि आक्रोस पोखेका छन् । उनले बालेन्द्र र उनका समर्थकसँग आफू जुध्न तयार रहेको पनि चेतावनी दिए।
‘नयाँ जोगीले धेरै खरानी घस्छ भन्छन्, त्यै भएर नयाँ जोगीहरुले धेरै खरानी घस्ने कुरा ठिकै होला तर हामी अनुभवीसँग सिक्नुभयो भने तपाईंहरुलाई विकासको मोडालिटीका बारेमा हाम्रा अनुभव शेयर गरौँला । वर्षौंदेखि मेहनत गरेर, दुस्ख गरेर, छोराछोरीलाई खाडीमा पठाएर बनाएका जनताको पुर्ख्यौली सम्पत्ति भत्काउने तिम्रो कुनै तागत छैन, तिमीलाई कुनै अधिकार छैन । यो कुरा भनेबापत तिम्रा सुन्ड मुसुन्डहरुले मलाई गाली गर्छन् भने तिम्रा सुन्ड मुसुन्डहरुसँग हजारौँपटक जुध्न म तयार छु ।’ भक्तपुरमा शनिबार भएको कार्यक्रममा नेता बस्नेतले भने ।,
यस्तै उक्त कार्यक्रममा नेता बस्नेतले विगतका दिनमा शेरबहादुर देउवाले तरकारी बजार गर्ने भनेर जग्गा खाली गरेको र जग्गा खाली भएपछि तरकारी बजारको शिलान्यास समेत गर्न नसकेको पनि अवगत गराए ।
