
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले २२ भदौभित्र उम्मेदवार सिफारिस गरिसक्न तल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।
प्रदेश वा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गर्ने, जिल्ला र प्रदेशले त्यसमा थप सुझाव दिएर केन्द्रमा नाम पठाउने विधि शनिबार सकिएको केन्द्रीय कमिटीको बैठकले तय गरेको हो । प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले उम्मेदवारको अन्तिम टुंगो भने केन्द्रले लगाउने जानकारी दिए ।
तल्ला कमिटीहरुलाई एक महिलासहित ३ जनाको उम्मेदवार सिफारिस गर्न भनिएको छ । तर समानुपातिकतर्फ एक पटक अवसर पाएकाहरुलाई आम रुपमा नदोहोर्याउन भनिएको छ । ‘एक पटक अवसर प्रयोग गरेका नेता, कार्यकर्तालाई आम रुपमा दोहोर्याउनु हुन्न । यस्ता क्षेत्रमा पालैपालो प्रणाली अपनाउनुपर्छ’ उपमहासचिव गुरुङले भने ।
प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा बहुमत ल्याउने उद्देश्यका साथ पछिल्लो पटक भएको कुनै पनि निर्वाचनमा पराजित भएकाहरुलाई उम्मेदवार नबनाउने र जित्ने सम्भावना बढी र संसदीय भूमिका प्रभावकारी खेल्न सक्ने व्यक्ति हेर्नुपर्ने एमालेले निर्णय गरेको छ ।
