
एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच चार विषयमा छलफल भएको छ ।
एमाले अध्यक्ष ओली र प्रधानमन्त्री देउवाबीच आज (बुधबार) बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । अध्यक्ष ओली र प्रधानमन्त्री देउवाबीच भएको उक्त भेटवार्तामा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की र उपमहासचिव विष्णु पौडेल पनि सहभागी भएका थिए ।
निष्पक्ष र शान्तिपूर्ण निर्वाचन प्रक्रिया, नागरिकता सम्बन्धि र महँगीका विषय प्रधानमन्त्री देउवासामु भेटमा ओलीले जिज्ञासा राखेको सञ्चारमन्त्री कार्कीले बताए। ओलीले उठाएका चारै विषयमा प्रधानमन्त्री देउवाले सकरात्मक जवाफ दिएका थिए ।
प्रधानमन्त्री देउवाको भनाई उदृत गर्दै सञ्चारमन्त्री कार्कीले भने, ‘निर्वाचनको निष्पक्ष र विश्वसनियतामाथि तपाईँ निसंकोच भएर निर्वाचनको तयारी गर्नुस् । सरकारले निर्वाचन निष्पक्षपूर्ण ढंगले गर्छ ।’ उनका अनुसार शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन चाहेको ओलीलाई प्रधानमन्त्री देउवाको जवाफ थियो । मन्त्री कार्कीले अगाडि भने, ‘नेपालीका छोराछोरीले नागरिकता नपाएको अवस्था छ । उनीहरुलाई नागरिकता पाउने व्यवस्था मिलाउने विधेयक ल्याउनु परेको हो भन्नुभयो ।’
एमाले अध्यक्षद ओलीले राखेका चार विषयलाई गठबन्धनको बैठकमा राख्ने साथै महँगी नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाले बताएका थिए ।
