८ वर्ष ४ महिना कैद भुक्तान गरि छुटे फेरि पक्राउ पक्राउ पर्नुको कारण यस्तो

७ भाद्र २०७९, मंगलवार १७:३५

लागूऔषध बुप्रेनोर्फिन, फेनारगन र डाइजेपाम सहित ३ जनालाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट २ हजार ८ सय १० एम्पुल सहित प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका १८ सैबु बस्ने ३८ वर्षीय कानविन श्रेष्ठ, सुनसरी धरान उपमहानगरपालिका १० बस्ने ४३ वर्षीय ध्रुव लिम्बु र पर्सा बिन्दबासिनि गाउँपालिका ४ बस्ने ४० वर्षीय जमुना साह तेलीलाई प्रहरीले पक्राउ गरेको हो।

बुप्रेनोर्फिन २ सय ४३ एम्पुल, फेनारगन २ सय ४३ एम्पुल, डाइजेपाम २ सय ४३ एम्पुल र नगद २० हजार रूपैयाँ सहित बिहीबार ललितपुर महानगरपालिका २ झम्सिखेलबाट श्रेष्ठलाई लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले गरेको थियो । यस्तै बुप्रेनोर्फिन ५ सय ६० एम्पुल, फेनारगन ५ सय ८४ एम्पुल र डाइजेपाम ७ सय ३७ एम्पुल सहित लिम्बुलाई र तेलीलाई बुप्रेनोर्फिन ९८ एम्पुल र डाइजेपाम १ सय २ एम्पुल सहित शुक्रबार काठमाडौं कालोपुलबाट पक्राउ गरेको हो ।

उक्त लागूऔषधहरू तेलीले लिम्बुमार्फत् श्रेष्ठलाई बिक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका श्रेष्ठ यसअघि कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ४ महिना कैद भुक्तान गरि छुटेका थिए ।

यस्तै पर्सा, वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्राम सहित तीन जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका १० बस्ने २७ वर्षीय सोनु मिश्र, भारतीय नागरिक १९ वर्षीय राहुल कुमार र १९ वर्षीय दिपु कुमारलााई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।