नेकपा एमाले नेतृत्वको संघीय सरकार र प्रदेश सरकारले प्रदेश नं. १ को नाम राख्न नसकेको अझै उल्टै आफूलाई दोष दिने गरेको भन्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रदेश १ को नामाकरणको टुंगो लगाउन नसकेर केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेशलाई नै जिम्मा लगाएको र अहिले आफ्नो काँधमा बन्दुक राखेर पड्काउन खोज्नु गलत भएको मुख्यमन्त्री राईले बताएका छन् ।
पहिचानका आधारमा सरकारले प्रदेशको नामाकरण गर्ने कुरा पहिल्यै गरिसकेको तर आलोचना खेप्न नसकेर अरुलाई जिम्मा लगाएको मुख्यमन्त्री राईले दाबी गरे ।
संघीयता भित्र प्रदेश संरचना निर्माण भइसकेपछि विकासको तानाशाहीकरण भएको मुख्यमन्त्री राईले आरोप लगाए । प्रदेश १ मा आयोजित छलफल कार्यक्रम संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिमा उनले संघको नेतृत्वले आफैं अधिकार र बजेट मुठ्यार प्रदेश सरकार र स्थानीय सरकारलाई निम्छरो बनाइ आलोचना गरिरहेको आरोप लगाए ।
