यसपाली अर्घाखाँचीमा साथी साथीबीच चुनावी भिडन्त हुदै

७ भाद्र २०७९, मंगलवार १३:२७

आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा निर्वाचनमा अर्घाखाँचीमा निकै प्रतिस्पर्धा हुने सम्भावना रहेको छ ।

२०७७ सालमा माओवादी छाडेर एमालेको केन्द्रीय सचिव बनेका टोपबहादुर रायमाझी र माओवादी केन्द्रको स्थायी समिति सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सचिव डिलाराम आर्चाय बीच प्रतिस्पर्धा हुने सम्भावना रहेको छ ।

दुवैको राजनीति तत्कालीन मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालको विद्यार्थी संगठनबाट पञ्चायतीकाल देखि सुरु भएको थियो। मंसिर ४ का लागि तय भएको प्रतिनिधि सभा चुनावमा दुवै जना उम्मेदवार बन्दैछन्, त्यो पनि गृहजिल्ला अर्घाखाँचीबाटै।

अर्घाखाँचीमा एक मात्र निर्वाचन क्षेत्र छ। रायमाझी एमालेबाट उठ्दैछन् भने आचार्यलाई माओवादी केन्द्रले गठबन्धनका तर्फबाट उम्मेदवार बनाउँदैछ। आचार्य अहिले पाँच दलीय गठबन्धनबाट सो क्षेत्रको उम्मेदवार बन्ने लगभग निश्चित भएको बताउँछन्।

२०७४ मा तत्कालीन माओवादी केन्द्रबाट रायमाझीले सो क्षेत्रमा जितेका थिए। डिलाराम पनि राष्ट्रिय जनमोर्चाका पूर्वसांसद हुन्। यस्तै उनीहरु २०३४र०३५ देखि पञ्चायती व्यवस्था अन्त्यको लागि मसाल बनेका थिए। जिल्लामा उनीहरु लडाकू स्वभावका नेता मानिन्थे।

माओवादीले २०५२ सालमा दीर्घकालीन जनयुद्ध थाल्यो। त्यसमै सहभागी भए टोपबहादुर। जनयुद्धमा अनिल लगायतका नामले चिनिएका उनले जनमुक्ति सेनाको कमान्डरका रुपमा पनि काम गरे। उनी योङ कम्युनिस्ट लिग (वाईसीएल) का संस्थापक संयोजक पनि हुन्।

२०५४ मा माओवादीको पोलिटब्युरो सदस्य बनेका टोपबहादुर दुई पटक माओवादीको प्रवास ब्युरो इन्चार्ज भए। २०५८ सालमा उनी पश्चिमाञ्चल इन्चार्ज बने। यस्तै, माओवादीको सचिवालय सदस्य र मधेश इन्चार्ज बनेर काम गरे।

२०६२र०६३ को ऐतिहासिक जनआन्दोलन हुँदै माओवादी शान्ति प्रक्रियामा आयो। उनी प्रभावशाली नेतामै पर्थे। २०६४ को पहिलो संविधान सभा, २०७० को दोस्रो संविधान सभा र २०७४ को प्रतिनिधि सभा चुनावमा रायमाझी अर्घाखाँचीबाट सांसद निर्वाचित भए। २०७४ को चुनावमा ५० हजार मत कटाउने रायमाझी माओवादीका एक्ला नेता थिए।

उता डिलाराम आचार्य भने २०५६ मा अर्घाखाँची क्षेत्र १ का निर्वाचित सांसद हुन् । २०६७ मा माओवादी केन्द्रमा प्रवेश गरेसँगै विभिन्न समयमा अवध राज्य समिति ईन्चार्ज, तमुवान राज्य समिति इन्चार्ज, मगरात राज्य समिति इन्चार्ज जस्ता जिम्मेवारीहरु निर्वाह गरिसकेका छन् । पार्टीमा अध्यक्ष प्रचण्ड निकट मानिने आचार्य हाल सम्पर्क समन्वय समितिको इन्चार्जको भूमिकामा छन् ।

टोपबहादुरले चुनावको सबै तयारी गरिसकेको बताएका छन्। उनको विश्लेषणमा डिलारामभन्दा पनि कांग्रेस प्रतिस्पर्धी हो। किनभने अर्घाखाँचीमा कांग्रेसको मत बढी छ। दोस्रोमा एमाले, तेस्रोमा माओवादी केन्द्र र चौथोमा राष्ट्रिय जनमोर्चा छ।

यस्तै माओवादी केन्द्रका स्थायी कमिटि सदस्य डिलाराम आर्चायले पूर्वसहकर्मीसँगै चुनावमा होमिन पाउनुलाई सुवर्ण अवसर मिलेको बताउछन्।टोपबहादुरजीसँग चुनावमा भिड्ने यो मेरो लागि सुवर्ण अवसर हो,’आचार्यले भने, ‘अब त्यो अवसर सदुपयोग हुन्छ।’
उनले टिकट भने पाइसकेका छैनन् तर सम्भावना भने बढी रहेको छ ।

माओवादीले प्रत्यक्षमा जितेको सिट अहिले पनि पाउने सहमति भएको कारण आफूले अर्घाखाँचीमा उम्मेदवारी पाउनेमा आफू ढुक्क रहेको आचार्य बताउँछन्।