यति धेरे अधुरा छन् गिरीका सपना, ती के के हुन् ?

६ भाद्र २०७९, सोमबार ०७:२२

समाजवादी चिन्तक प्रदीप गिरीको निधनसँगै उनको केही सपना अधुरा रहेका छन्। त्यस्ता कतिपय सपना र अठोट उनको सिकिस्त बिरामी हुँदा पनि व्यक्त भएका थिए। गिरीलाई रोगले च्यापेर दुःसाध्य अवस्थामा पुर्‍याउँदा पनि आफ्नो वैचारिक व्यक्तित्व संसद्मार्फत जनसमक्ष प्रस्तुत गर्ने अठोट गरेका थिए। त्यसका लागि उनले चिकित्सकसँग झगडा पनि गरेका थिए।

मुम्बईमा क्यान्सरको उपचार गराइरहँदा भतिज डा। सन्दर्भ गिरीले बिरामी काकाले स्वास्थ्यमा हेलचेक्र्याइँ गरेको भनी परहेजमा रहन सम्झाउँदा आफू आत्मबलले निको भएर संसद्मा भाषण गर्ने बताएका थिए। गिरीका सहयोगी रामसागर यादवका अनुसार मुम्बईमा अस्पताल धाउँदा गिरी काका निकै कमजोर भएका थिए । गिरीका भतिज सन्दर्भ गिरीले ठूलोबुवालाई समय–समयमा खाना खानू, लापरबाही नगर्नू भन्थे। गिरी ‘तँ डाक्टर भएँ भन्दैमा मलाई सिकाउने’ भन्दै बहसमै उत्रिन्थे। त्यसै सन्दर्भमा नेता गिरीले आफू पूर्ण स्वस्थ भएर संसद्मा भाषण गर्ने धोको रहेको बताएका थिए।

यादवले भने, “ठूलोबुवा तपाईं बिरामी हुनुहुन्छ, राजनीतिक कुरा गरेको होइन। मैले स्वास्थ्यको कुरा गरेको भन्नुहुन्थ्यो डा.गिरीले। मुम्बईमा प्रदीप काका निकै कमजोर भएपछि नेपालमै उपचार गर्ने भनेर फर्काइएको हो।” तर, गिरीले जित्न सक्नुभएन। संसद्मा फर्केर एक पटक दमदार भाषण गर्ने गिरीको सपना अधुरै रह्यो। संसद्मा भाषण गर्ने मात्र होइन, आत्मवृत्तान्त र नेपालको राजनीतिक वृत्तान्त लेख्ने तथा युवापुस्तालाई नेतृत्वमा ल्याउने योजना गिरीले बनाएका थिए। ती पनि पूरा हुन सकेनन्। गिरीका निकट वरिष्ठ पत्रकार किशोर नेपालका अनुसार गिरीले तीन जनाको सहकार्यमा नेपालको राजनीतिक वृत्तान्त लेख्ने योजना थियो तर त्यो पनि अधुरो नै रह्यो। गिरी आत्मवृत्तान्त पनि लेख्न चाहन्थे। त्यो कुरा उनका बालसखालाई सुनाएका थिए।

नेता गिरीका बालसखामध्ये एक सिरहाको बस्तीपुरका ७१ वर्षीय कुमुदरञ्जन बरालले भने, “दाइले आत्मवृत्तान्त लेख्छु भन्नुहुन्थ्यो, लेख्नुभयो कि लेख्नुभएको छैन, त्यो थाहा भएन। लेख्ने विचार आएको बेला बिरामी पर्नुभयो। आत्मवृत्तान्त पनि प्रकाशन हुन पाएन।” वरिष्ठ पत्रकार नेपालले भने आफूलाई आत्मवृत्तान्तबारे थाहा नभएको तर नेपालको राजनीतिक वृत्तान्त भने अधुरै रहेको बताए। लहान नगरपालिकाका प्रमुख महेश चौधरीका अनुसार गिरी युवापुस्तालाई नेतृत्वमा ल्याउन चाहन्थे। उनले भने, “गिरीले अब म सक्रिय राजनीति गर्दिनँ तर युवापुस्तालाई राजनीतिप्रति उन्मुख गराउनेछु। यसका लागि तिमीहरूले मलाई साथ दिनुपर्छ भन्नुहुन्थ्यो। गिरीको यो धोको पूरा हुन सकेन, अब हामी गिरीको यो धोको पूरा गर्छौं।” गोरखापत्रबाट