
गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । यदि नेकपा एमालेको सरकार मंसिर ४ गतेको निर्वाचनपछि नबने देशको अवस्था झन् खराब हुने ओलीले बताए ।
एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनकै सरकारका कारण बेतिथि उत्कर्षमा पुगेको शनिवार झापाको बिर्तामोडमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै बताए । परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरेर फेरि पनि अहिले सरकारमा भएका दलहरूको सरकार बन्यो भने ओलीकै शब्दमा त्यो सरकारले मान्छे कुट्दै हिँड्ने उनले दाबी गरे ।
इन्जिनियरिङ कलेजहरूकै सिन्डिकेटका कारण झापाको बिर्तामोडमा भौतिक पूर्वाधार तयार भइसकेको इन्जिनियरिङ कलेज सञ्चालन हुन नसकेको ओलीले बताए । जतिसक्दो छिटो सञ्चालनका लागि आफ्नो प्रयास जारी राख्ने र आफूले उक्त कलेज सञ्चालनका लागि जोडबल गरिरहेको उनले बताए ।
नेपालको विकासमा अझ गति दिन धेरै काम गर्नुपर्ने भएकाले त्यसका लागि जतिसक्दो योगदान दिन र विकास निर्माणमा इन्जिनियरहरूको योगदान अपरिहार्य रहेको ओलीले उल्लेख गरेका छन् ।
