
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्नु पर्ने भन्दै प्रमाणीकरण नगरी फिर्ता पठाएको विधेयक आज संसदले नागरिकता ऐन संशोधन विधेयक पारित गर्ने भएको छ ।
आजको अन्तिम कार्यसूचीमा नागरिकता विधेयक पारित गर्ने संसद सचिवालयले सार्वजनिक गर्दै उल्लेख गरेको छ । राष्ट्रपतिले पुनर्विचार गर्नुपर्ने देखिएको भन्दै प्रमाणीकरण नगरी फिर्ता पठाएको विधेयक हुबहु पारित गर्न लागिएको हो ।
सत्ता गठबन्धनको ३१ साउनमा बसेको बैठकले राष्ट्रपतिले पुनर्विचार गर्न भनेर फिर्ता पठाएको विधेयक हुबहु अघि बढाउने निर्णय गरेको थियो । संसदका दुवै सदनबाट पास भइसकेको नागरिकता सम्बन्धी विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए । तर राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित २९ गते उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् ।
नेकपा एमालेले नागरिकता विधेयकमा साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाउनुपर्ने आजको कार्यव्यवस्था परामर्श समितिको बैठमा माग गरेका थिए । यसबारे विषयगत समितिमा पनि छलफल गर्नुपर्ने माग गरेका थिए ।
