
काठमाडौं महानगरपालिकाको विभिन्न ठाँउमा थुप्रिएको फोहोरको विषयमा प्रतिनिधिसभामा छलफल चलिरहेको छ ।
काठमाडौं महानगरले स्थानीयबासीसँग फोहोर फाल्न गरेको सम्झौता कार्यान्वन नभएको र महानगरको मात्रै भर नपर्न सरकारलाई मंगलबार संसदको शून्य समयमा बोल्दै सांसदहरुले अनुरोध गरेका छन् ।
काठमाडौंको फोहोर मैलाको चर्चा मात्रै भएको तर समस्या समाधानतर्फ ध्यान नदिएको नुवाकोटका सांसद हितबहादुर तामाङले टिप्पणी गरेका छन् ।
‘सुनिन्छ १ सय ७४ सम्झौता भइसक्यो, तर कार्यान्वयन भएन । अर्बौं खर्च भइसक्यो भनेर भनिन्छ तर कहाँ खर्च भयो कसरी खर्च भयो ? कार्यान्वयन कस्तो छ त ?’ तामाङले भने ।
उनले विगत १७ वर्षदेखि पटक पटक सम्झौता गरेर कार्यान्यन नगरेको भन्दै आपत्ति प्रकट गरेका थिए । काठमाडौंको फोहोरको समस्या हरेक वर्ष नयाँ–नयाँ स्वरुपमा आइरहेता पनि समाधन हुन नसकेकोसांसद हिरा गुरुङले बताइन् ।
यस्तै महानगरले सरकार ताक्ने र सरकारले महानगर ताक्ने काम मात्रै गर्न भएको अहिले पुरै काठमाडौं दुर्गन्धित भइसकेको पनि गुरुङले बताएकी छन्।
