
राष्ट्रपति विद्यादेवी भण्डारीको सत्तारूढ नेपाली काँग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले राजीनामा मागेको छ।
तरूण दलले संसदबाट पारित भई सभामुखले अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएको नागरिकता विधेयक राष्ट्रपतिले आइतबार पुनः संसदमै फिर्ता पठाएको भन्दै राजीनामा माग गरेको हो।
विधेयकमा अराजनीतिक बाहना र प्रपञ्च देखाई प्रमाणीकरणबिना प्रतिनिधिसभामा फिर्ता पठाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष विद्वान गुरूङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘नागरिकता विहीन नेपाली जनतामाथिको यो अपमान घोर निन्दा र भर्त्सना गर्दछ,’ अध्यक्ष गुरूङले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
जनताको जीवनसँग जोडिएको विषयमा राष्ट्रपतिले खेलबाड र बेवास्ता गरेको तरुण दलको ठहर छ । ‘सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादामा नरहने राष्ट्रपतिले नैतिकताको उच्च उदाहरण बनेर राजीनामा दिनु उचित हुने अन्यथा महाअभियोगबाट पदच्यूतसमेत गर्न संसद र सरकारसँग तरूण दल केन्द्रीय समिति आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रपति भण्डारीले विधेयकमा महिलाको समान हक र देशको भौगोलिक परिस्थितिलाई संसदले एक पटक पुनर्विचार गर्दा राम्रो हुने सन्देश पठाएकी थिइन्।
