पानीको कारणले कति स्वास्थ्य लाभ गर्ने अवसरबाट वञ्चित हुनुपरेछ: गणेश प्रसाद तिमिल्सिना

२५ श्रावण २०७९, बुधबार १३:५४

राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्ने राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बताएका छन् ।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै नसकिँदा लाभ लिनबाट वञ्चित हुनुपरेको बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै बताएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले आयोजनाको काम अहिलेसम्म नसकिँदा पानीको कारणले कति स्वास्थ्य लाभ गर्ने अवसरबाट वञ्चित हुनुपरेको बताए । उनले आयोजना ढिलो हुँदा लागत बढ्दै गएको र सरकारले यति ठूला आयोजनाको लागत बढ्दै जाँदा धान्न मुस्किल हुने भन्दै कामहरु समयमै सक्नुपर्ने बताए ।

उनले सरकारले योजना गर्दा व्यवहारिक गर्न नसकेको भन्दै उनले त्यसलाई सच्याएर अघि बढ्न आवश्यक रहेको बताए । उनले राष्ट्रिय गौरव भनिरहँदा राष्ट्रिय गौरवका आयोजनाको निश्चित परिभाषा, निश्चित अर्थ र महत्व हुनुपर्ने बताए । उनले राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्री, अर्थमन्त्री वा अन्य मन्त्री र सरकारको पहुँचमा रहेका नेताहरुको मन परेको योजनालाई बनाउने कुरा हुनु नहुने बताए ।

उनले कुनै पनि आयोजना जति छिटो सक्यो त्यति राज्यले प्रतिफल पाउने र कुनै आयोजना ढिला हुँदा राज्यको लागत बढ्ने उनले बताए ।